काठमाडौं । लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा कम्पनीको प्रधान कार्यालय पोखरामा सम्पन्न भएको छ । कम्पनीको आइतबार सम्पन्न भएको विशेष साधारणसभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष निकोलस पाण्डेले गरेका थिए ।
विशेष साधारणसभामा कम्पनीका अध्यक्षलगायत सञ्चालकहरू, सेयरधनी, सेयरधनीका प्रतिनिधि, कम्पनी सचिव, कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायत कम्पनीका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
कम्पनीको विशेष साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष पाण्डेले कम्पनीको जारी पुँजीअन्तर्गत सर्वसाधारण समूहका लागि छुट्टाइएको ३० प्रतिशत रकम २२ करोड ५० लाख बराबरको प्रतिकित्ता अंकित मूल्य एक सय रुपैयाँका दरले हुने जम्मा सेयर २२ लाख ५० हजार कित्ता सेयर प्रचलित कानुनको अधिनमा रही प्राथमिक सार्वजनिक निष्काशनमार्फत सर्वसाधारणका लागि निष्काशन गर्नेसम्बन्धी प्रस्ताव उपर छलफल भई पारित गरेको छ । त्यसैगरी प्राथमिक सार्वजनिक निष्काशनमार्फत बिक्रीबाट प्राप्त हुने रकम २२ करोड ५० लाख रुपैयाँ नेपाल बीमा प्राधिकरणबाट लघु जीवनबीमा कम्पनीहरूका लागि जारी निर्देशिकाको अधीनमा रही लगानी गर्ने प्रस्ताव पनि विशेष साधारणसभाले पारित गरेको छ । सोही साधारणसभाबाट निष्काशन गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।