कोलम्बो । श्रीलंकामा आगामी महिना हुने राष्ट्रपतिको निर्वाचनमा ३९ जना प्रतिस्पर्धी रहने निर्वाचन आयोगले बिहीबार जनाएको छ । वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे पनि आगामी राष्ट्रपति निर्वाचनका प्रमुख दाबेदार हुन् ।
दुई वर्षअघि विक्रमासिंघेले सत्ता सम्हालेयता यो पहिलो मतदान हो । श्रीलंकामा अकल्पनीय आर्थिक सङ्कटका कारण आक्रोशित प्रदर्शनकारीहरूले शक्तिशाली राष्ट्रपति गोटबाया राजापाक्षेलाई अपदस्थ गरेपछि विक्रमासिंघेले सत्ताको बागडोर सम्हालेका थिए । उनकै नेतृत्वमा श्रीलंकाले आफ्नो आर्थिक सङ्कटलाई थप विग्रिन नदिई सम्हाल्न सफल भएको छ ।
उमेरले ७५ वर्षमा हिँडिरहेका विक्रमासिंघेलाई विपक्षी दलका संसदीय नेता ५७ वर्षीय राजनीतिज्ञ प्रेमदासा र ५५ वर्षीय वामपन्थी नेता अनुरा कुमारा दिसानायकाले चुनौती दिएका छन् । त्रिपक्षीय लडाइँका रूपमा सुरु भएको यो प्रतिस्पर्धा प्रभावशाली राजापाक्षे परिवारले विक्रमासिङ्घेलाई दिएको महत्वपूर्ण समर्थन फिर्ता लिएपछि र आफ्नै उम्मेदवार निर्मल राजापाक्षलाई उठाएपछि गत सातादेखि चुनौती झनै पेचिलो बनेको छ ।
पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री महिन्दा राजापाक्षेका छोरा तथा गोटबायाका भाइसमेत रहेका ३८ वर्षीय राजापाक्षे संसद् सदस्य पनि हुन् । करिब दुई करोड २० लाख जनसङ्ख्या रहेको बौद्ध बहुल श्रीलंकामा सेप्टेम्बर २१ मा मतदान हुँदैछ । निर्वाचन आयोगका अध्यक्ष आरएमएएल रथनायकेका अनुसार ३९ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् र जसमध्ये कोही पनि महिला छैनन् ।
सन् २०१९ को नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा गोटबाया राजापाक्षेले ३५ जना उम्मेदवारलाई पराजित गरेका थिए । तर, उनलाई सन् २०२२ मा अर्थव्यवस्थाको गलत व्यवस्थापनको विरोधमा महिनौँसम्म चलेको विरोध प्रदर्शनपछि राजीनामा दिन बाध्य पारिएको थियो ।
श्रीलंकामा एक करोड ७० लाखभन्दा बढी मतदाताले मतदान गर्न पाउँछन् भने आधुनिक मतदान अभ्यास (विद्युतीय मतदान)का कारण मतदान भएको एक दिनभित्र परिणाम आउने अपेक्षा गरिएको छ । निर्वाचन परिणाम घोषणा भएको दुई हप्ताभित्र नयाँ राष्ट्रपतिले शपथ लिनुपर्छ ।