काठमाडौँ । कान्तिपुर सिटी कलेजले शुक्रबार आयोजना गरेको शैक्षिक प्रदर्शनीको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको अवस्था परिर्तनको निम्ति वर्तमान सरकार गठन भएको बताएका छन् । उनले मुलुकमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन आउन नसेकको उल्लेख गरे ।
उपप्रधानमन्त्री सिंहले देशको बारेमा नकारात्मक टिप्पणी मात्रै गर्नेभन्दा पनि प्राप्त उपलब्धिलाई संस्थागत गर्दै समृद्ध नेपालको निम्ति लाग्न सबैमा अनुरोध गरे । उनले जनताको अवस्थामा आमूल परिवर्तन गर्नका लागि सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा (एमाले) मिलेर संयुक्त सरकार गठन गरिएको बताए ।
देशभित्रै रहेको स्रोत÷साधन प्रयोग गरेर रोजगारी सिर्जना गरी विदेश पलायन भएका युवालाई स्वदेश मै रोजगारको अवसर सिर्जना गर्ने सरकारको मुख्य लक्ष्य रहेको उनको भनाइ थियो । नेपाली शैक्षिक प्रणालीलाई रोजगार तथा सिपमूलक र उत्पादनमुखि बनाउनु पर्नेमा जोड दिँदै उपप्रधानमन्त्री सिंहले समग्र शिक्षा प्रणालीलाई उत्कृष्ट बनाउनका लागि ऐन÷कानुन तथा नीति परिवर्तन गर्नु परेको खण्डमा सरकार तयार रहेको बताए ।