काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शय्याको बनाउने प्रक्रिया अघि बढेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हालै अस्पताललाई तीन सय शय्या थप गर्नेसम्बन्धी घोषणा गरेका थिए ।
सहरी आवास तथा भवन निर्माण विभागबाट प्राप्त अस्पतालमा श्वासप्रश्वाससम्बन्धी उपचार सेवाका लागि तीन सय शय्याको डीपीआर अस्पतालका प्रमुख डा रामकुमार श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई हस्तान्तरण गरेका छन् । डीपीआरमा साढे पाँच अर्ब लागतमा निर्माण सम्पन्न हुने उल्लेख छ । मन्त्री पौडेलले डीपीआरअनुसारको निर्माण अघि बढाउन भारतीय दूतावाससमक्ष अनुरोध गरेका छन् । दूतावासका तर्फबाट सकारात्मक जवाफ प्राप्त भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको श्वासप्रश्वाससम्बन्धी देशकै एक मात्र विशिष्टिकृत अस्पतालमा हाल त्यहाँ ५० जनरल वार्ड मात्र छन् । सोही कारण श्वासप्रश्वासका बिरामीको उपचार हुन सकेको छैन ।
डीपीआर आएसँगै अस्पताललाई तीन सय शय्याको र केन्द्रमा सेवा विस्तार गर्न कोशेढुङ्गा भएको अस्पतालका प्रमुख डा रामकुमार श्रेष्ठले बताए । अब मन्त्रालयको सहयोगमा अस्पताल निर्माणका लागि स्रोत जुटाउने अपेक्षा गरिएको उनले बताए । यसका लागि परराष्ट्र र अर्थ मन्त्रालयमार्फत भारतीय दूतावाससमक्ष प्रस्ताव अघि बढाइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफ्नै कार्यकालमा अस्पतालको कामलाई गति दिने घोषणा गरेकाले यसैपालि विस्तारको काम अघि बढ्नेमा उत्साही बनेको डा श्रेष्ठले बताए । अस्पतालले थप सात सय शय्यासहित एक हजार शय्या बनाउने दीर्घकालीन लक्ष्य राखेको छ । यसका लागि समेत थप पहल गर्नेमन्त्री पौडेलले प्रतिबद्धता जनाएका छन् ।