काठमाडौं, मंसिर २९ कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग साझेदारी गरेको छ । साझेदारीसँगै कतार एयरवेज ए डिभिजन शहीद स्मारक लिगको प्रायोजक बनेको छ । नेपालको सबैभन्दा ठूलो फुटबल लिग कतार एयरवेज ए डिभिजन शहीद स्मारक लिग शनिबारदेखि सुरु भएको छ । लिग आगामी १५ फेब्रुअरी २०२० सम्म हुनेछ । यस साझेदारीसँगै कतार एयरवेजको लोगो प्रतियोगितामा सहभागी सबै १४ क्लबको जर्सीमा देखिनेछ । यसको साथमा कम्पनीले बोर्ड, रंगाशालाका झण्डा, एलईडी स्क्रिन तथा डिजिटललगायतका सामग्री प्रायोजन गर्नेछ । कतार एयरवेज ग्रुप प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भने, ‘यस साझेदारीसँगै हामी निकै उत्साहित छौँ जसबाट कतार एयरवेजले देशकै फुटबल विकासमा सहयोग पु¥याउनेछ । खेलकुदले सबैलाई एक बनाउने हाम्रो विश्वास छ र यसप्रतिको हाम्रो समर्पणको एक उदाहरण हो यस साझेदारी ।’