काठमाडौं । नेपाल उद्योग परिसंघअन्तर्गतको पर्यटन समितिले युरोपसँगको सिधा हवाई सम्पर्क पुनःस्थापित गरिनुपर्नेमा जोड दिएको छ । समितिको एक प्रतिनिधिमण्डलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेसँग गरेको छलफलमा पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गर्नुपर्नेमा जोड दिएको हो ।
यस्तै, समितिले राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धी बनाइनुपर्ने, पर्यटन ऐन र नीति ल्याइनुपर्नेमा जोड दिएको छ । छलफलमा परिसंघका उपाध्यक्ष राजबहादुर शाहले पर्यटन क्षेत्र विकास र लगानीको सम्भावना बढी भएको क्षेत्र भएकोले यस क्षेत्रको विकासका लागि नयाँ नीतिहरू ल्याउन जरुरी रहेको बताए । पर्यटन क्षेत्रका समस्याबारे जानकारी गराउँदै उनले समाधानका उपाय समेत सुझाएका थिए । छलफलमा समिति सदस्य रविचन्द्र सिंहले आगामी नोभेम्बर ८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समयावधि १४ घण्टाबाट बढाएर १६ घण्टा बनाउन आग्रह गरे । पर्यटकीय मौसम भएकाले सो मितिदेखि राति १० बजेसम्म सञ्चालन हुने भनिएको समयावधि बढाएर राति १२ बजेसम्म गर्न उनले सुझाव दिए ।
यसैगरी उनले नेपालको हवाई टिकटको मूल्य धेरै भएकोले लक्ष्यअनुरूप पर्यटकहरू नेपाल भित्र्याउन मुस्किल भएको बताए । सरकारले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखे भए पनि हवाई टिकटको मूल्यमा समायोजन नगरे सो लक्ष्य हासिल गर्न नसकिने उल्लेख गरे । साथ, उनले हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि करलाई पुनरावलोकन गर्न जरुरी रहेको बताए । समिति सदस्य अशोक पोख्रेलले पर्यटन विकासका लागि नेपालले पहुँच वृद्धि गर्नु जरुरी रहेको बताए । उनले नेपालबाट युरोप जान आउनका लागि सहजीकरण गर्न नेपाललाई युरोपियन युनियनको सुरक्षा सूचीबाट हटाउन प्रभावकारी पहल आवश्यक रहेको उल्लेख गरे । राष्ट्रिय ध्वजावाहकलाई बलियो बनाउनुपर्ने, नेपाल पर्यटन बोर्डलाई यसको उद्देश्य अनुरूप अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । यसैगरी समितिले हवाई दुर्घटना न्यूनीकरण, दुई वटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, नेपाल पर्यटन बोर्डलगायतका सम्बन्धमा पनि सुझाव दिएको छ ।
छलफलमा मन्त्री पाण्डेले पर्यटन क्षेत्रको समस्या समाधानका लागि कामको प्राथमिकता हेरेर अगाडि बढ्ने बताए । २०८३ भदौसम्ममा पोखरा र भैरहवा एयरपोर्टको समस्या समाधान हुने गरी काम गरिरहेको उनले जानकारी गराएका थिए । यसैगरी पर्यटन ऐन तयारी अवस्थामा रहेकाले चाँडै आउने समेत उनले बताए । नेपाल एयरलाइन्सलाई सबल बनाउने विषयमा थप छलफल तथा सल्लाह सुझाव लिँदै अगाडि बढ्ने उनको भनाइ थियो । सो छलफलमा परिसंघ पर्यटन समिति सभापति पम्फा धमला, सदस्यहरू हिक्मत सिंह ऐर, तिलक लामा, दिपकराज जोशीलगायतले सुझाव दिएका थिए ।