मस्को । युक्रेनी ड्रोन आक्रमणबाट आइतबार बिहान रुसको दक्षिणी रोस्तोभ क्षेत्रमा एक तेल भण्डारण केन्द्रमा भीषण आगलागी भएको छ । सामाजिक सञ्जालमा प्रकाशित भिडियोमा आगो लागेपछि प्रोलेटास्र्क सहरमा बाक्लो कालो धुवाँ र आगोको मुस्लो निस्किएको स्थानीय गभर्नरले बताएका छन् ।
‘रोस्तोभ क्षेत्रको दक्षिणपूर्वमा हवाई सुरक्षाले एउटा ड्रोन आक्रमणलाई विफल बनाएको छ, प्रोलेटास्र्कमा औद्योगिक भण्डार केन्द्रहरूको क्षेत्रमा ड्रोन खसेपछि डिजेल इन्धनमा आगो लाग्यो’, गभर्नर भासिली गेलबेभले टेलिग्राममा भने, ‘स्थानीय समयानुसार बिहान पाँच बजेर ३५ मिनेनमा अर्को ड्रोन आक्रमणका कारण प्रोलेटास्र्कमा औद्योगिक सुविधामा अग्नी नियन्त्रण निलम्बित गरिएको थियो ।’ पछि उनले आक्रमणमा कोही पनि घाइते नभएको बताए । प्रोलेटास्र्क युक्रेनी सीमाबाट करिब दुई सय ५० किलोमिटर र युक्रेनी सीमामा लडिरहेका किएभको नियन्त्रणमा रहेको क्षेत्रबाट करिब तीन सय ५० किलोमिटर टाढा छ । रुसी रक्षा मन्त्रालयले रातभरमा ‘विमान–प्रकार’का पाँच युक्रेनी ड्रोनलाई खसाएको बताएको छ । रासस/एएफपी