काठमाडौं । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको केन्द्रीय महाधिवेशन भदौ १५ गते काठमाडौंमा हुने भएको छ । संघले राजधानीमा तेस्रो महाधिवेशन तथा १३ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
महाधिवेशनले नयाँ नेतृत्व चयनका साथै केन्पो खुकुरी मार्सल आर्टस् खेलका आगामी कार्ययोजना तय गर्ने संघले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । नेपालभित्र नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स खेलको विकास विस्तारका साथै नेपाललाई खुकुरी मार्सल आर्ट्स खेलमा अन्तर्राष्ट्रियस्तरमा सहभागिता वृद्धि गरी खेलकुदमार्फत राष्ट्रको प्रतिष्ठा अभिवृद्धिमा जोड दिँदै आएको संघले जनाएको छ । साथै, स्थापनाको छोटो अवधिमै ७७ जिल्लाका तीन सय ६५ पालिकामा संघले आफ्नो संगठन विस्तार गरेको छ । देशभर एक सय ६५ वटा डोजो सञ्चालन गर्न सफल भएको संघका अध्यक्ष डा पूर्णप्रसाद पाण्डेले जानकारी दिए । ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ २०७४ सालमा स्थापना भएको संघले खेलको स्तर वृद्धि गर्न प्रशिक्षण, विभिन्न स्तर र तहका प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।