वीरगञ्ज, मंसिर २७
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले एसिडपीडित मुस्कान खातुनलाई तीन लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । काठमाडौँको कीर्तिपुरस्थित वर्ण अस्पतालमा पुगेर नगर प्रमुख सरावगीले मुस्कान खातुनको परिवारलाई उपचारको लागि उक्त आर्थिक सहयोग प्रदान गरेका हुन् । वीरगञ्ज महानगरपालिका कार्यालाद्वारा दुई लाख र नगरप्रमुख सरावगीको तलब भत्ताबाट एक लाख रूपैयाँको चेक सरावगीले बिहीबार प्रदान गरेका हुन् ।
मुस्कान खातुनलाई बुधबार अमेरिकन तथा नेपाली डाक्टरहरूको टोलीले प्लास्टिक सर्जरी अपरेशन गरेको छ । वीरगञ्जको छपकैया निवासी मुस्कान खातुनमाथि एसिड आक्रमण गरेका कारण उनको उपचार तीन महिनादेखि कीर्तिपुर वर्ण अस्पतालमा भइरहेको छ । नगरप्रमुख सरावगी अपस्पतामा पुगेर आर्थिक सहयोग गर्नुका साथै उनलाई अस्पतालमा चाहिने आवश्यक व्यवस्थापन समेतको व्यवस्था मिलाएका छन् ।
मुस्कानलाई अझ आर्थिक सहयोगको अवश्यकता रहेकोले विभिन्न दाताहरूसँग कुरा चलिरहेको बताउदै नगरप्रमुख सरावगीले सबैलाई इच्छुक संस्थाहरूलाई आर्थिक सहयोग गर्न अनुरोध समेत गरे । काठमाडौँमा उपचारार्थ रहेकी मुस्कानको उपचारमा नगर प्रमुख सरावगी सुरुदेखि नै सक्रिय रहँदै आएका छन् ।