काठमाडौँ । मुलुकको आन्तरिक हवाई उडान प्रतिकूल मौसमका कारण सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार पोखरा र भरतपुर गन्तव्यमा खराब मौसम तथा कम ‘भिजिविलिटी’का कारण उडान प्रभावित भएको हो ।
आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । “मौसम खराब रहेकाले भिजिविलिटी कमजोर हुदाँ पोखरा र भरतपुर गन्तव्यमा उडान हुन सकेको छैन”, उनले भने, “अन्य पहाडी क्षेत्रका विमानस्थलमा पनि सामान्य उडान प्रभावित भएको छ ।”
पोखरा र भरतपुरमा अहिलेसम्म कुनै पनि उडान नभएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए । वर्षा कम भएसँगै भिजिविलिटीमा सुधार आए केहीबेरपछि उडान हुने जानकारी आएको उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेकाले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।
सबै प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।