विकास बैंकहरूमा निष्क्रिय कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा विकास बैंकहरूको औसत तीन दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय छ । सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले चार खर्ब ९७ अर्ब ७४ करोड ३० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा १८ अर्ब छ करोड ८० लाख ७० हजार नौ रूपैयाँ कर्जा निष्क्रिय छ । विकास बैंकहरूकोे निष्क्रिय कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा शून्य दशमलव २३ प्रतिशत अर्थात् दुई अर्ब २४ करोड ९२ लाख ९८ हजार रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमामा विकास बैंकहरूले कुल चार खर्ब ६५ अर्ब २५ करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ४० प्रतिशतका दरले १५ अर्ब ८१ करोड ८७ लाख ७२ हजार रूपैयाँ कर्जा निष्क्रिय देखिएको थियो ।
विकास बैंकहरूमा प्रतिशतका आधारमा सबैभन्दा बढी निष्क्रिय कर्जा नारायणी डेभलपमेन्ट बैंकको छ । यस्तै सबैभन्दा कम निष्क्रिय कर्जा गरिमा विकास बैंकको छ । नारायणीको निष्क्रिय कर्जा ३५ प्रतिशत छ भने गरिमामा एक दशमलव ७० प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा यी दुई बैंकहरूको निष्क्रिय कर्जा क्रमशः २७ प्रतिशत र एक दशमलव ७० प्रतिशत थियो । सिन्धु विकास बैंक, ज्योति विकास बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा क्रमशः १० दशमलव १३ प्रतिशत, चार दशमलव ९५ र चार दशमलव ७१ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमामा क्रमशः १० दशमलव ५२ प्रतिशत, तीन दशमलव ४३ र सात दशमलव ८१ प्रतिशत थियो । महालक्ष्मी, सांग्रिला र शाईन रेसुंगा डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा क्रमशः चार दशमलव ५८, चार दशमलव शून्य आठ र तीन दशमलव ४३ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा यी बैंकहरूकोे निष्क्रिय कर्जा क्रमशः तीन दशमलव ५१, तीन दशमलव १६ र एक दशमलव ८१ प्रतिशत थियो ।
लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंकको निष्क्रिय कर्जा क्रमशः तीन दशमलव २९ प्रतिशत र तीन दशमलव २१ प्रतिशत छ । जुन अघिल्लो आर्थिक वर्षमा तीन दशमलव शून्य एक प्रतिशत र तीन दशमलव शून्य नौ प्रतिशत थियो । ग्रीन डेभलपमेन्ट र मुक्तिनाथ विकास बैंकको निष्क्रिय कर्जा क्रमशः तीन दशमलव १८ र दुई दशमलव २६ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा यी बैंकहरूको निष्क्रिय कर्जा क्रमशः तीन दशमलव ३० प्रतिशत र शून्य दशमलव ९८ प्रतिशत थियो । यीबाहेक क्षेत्रीयस्तरका कर्णाली, सप्तकोशी र साल्पा विकास बैंकको निष्क्रिय कर्जा पनि बढेको छ ।