काठमाडौँ । मुलुकभरका विमानस्थलमा प्रतिकूल मौसमका कारण उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको जनाएको छ ।
निरन्तरको वर्षाले केही उडान प्रभावित भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताएका छन् । मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरामा उडान स्थगित गरिएको छ भने, जनकपुर र सिमरा विमानस्थलमा समयमा उडान हुन सकेका छैनन् ।
अन्तर्राष्ट्रिय उडानका अन्य विमान केहीबेर ‘होल्ड’ भएपनि अहिले अवतरण हुन थालेको विमानस्थलका महाप्रबन्धक निरौलाले जानकारी दिए । अन्तर्राष्ट्रियतर्फ एयर चाइनाको विमान खराब मौसमका कारण ‘डाइभर्ट’ भएको हो ।
खराब मौसमका कारण सुर्खेत विमानस्थलमा बुद्ध एयरको विमान बुधबार बिहान नेपालगञ्ज 'डाइभर्ट' भएको थियो । पोखरा विमानस्थलमा खराब मौसमका कारण उडान स्थगित गरिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताएका छन् । मौसमकै कारण हिजो मङ्गलबार पनि पोखरा विमानस्थलको उडान प्रभावित भएको थियो । भरतपुर विमानस्थलमा भिजिबिलिटी कम हुँदा उडान हुन सकेको छैन ।