बेइजिङ । चीनले फिलिपिन्ससँगको आफ्नो सामुद्रिक मामिलामा अमेरिकी हस्तक्षेप अस्वीकार्य रहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा चीन र फिलिपिन्सबीचको सामुद्रिक विवादमा प्रवेश गर्न अमेरिकालाई कुनै अधिकार नभएकोे बताएकी हुन् ।
सोमबार चीनको नान्शा कुन्डाओको सियानबिन जिओ नजिकैको पानीमा फिलिपिन्सको तटरक्षक गार्डका दुईवटा जहाज अनाधिकृतरूपमा घुसेपछि दक्षिण चीन सागरमा चीनको कारबाहीबारे अमेरिकाले आलोचना गरेको थियो ।
माओले फिलिपिन्सले पहिलो पटक चीनको अधिकार उल्लंघन गरेको र चीनले आफ्नो क्षेत्रीय सार्वभौमसत्ता र सामुद्रिक अधिकार र हितको रक्षाका लागि कानुनी कदम चालेको बताइन् ।
उनले दक्षिण चीन सागर मुद्दाको पक्ष नभई अमेरिकालाई चीन र फिलिपिन्सबीचको सामुद्रिक मामिलामा हस्तक्षेप गर्ने अधिकार नभएको र अमेरिका–फिलिपिन्स आपसी रक्षा सन्धिलाई चीनको सार्वभौमसत्ता हनन गर्ने बहानाको रूपमा प्रयोग गर्न नहुने बताइन् । संयुक्त राज्य अमेरिकाले दक्षिण चीन सागर क्षेत्रमा टकराव भड्काउन बन्द गर्नुपर्छ र क्षेत्रीय स्थिरतालाई कमजोर पार्ने र तनाव बढाउनबाट अलग रहनुपर्ने बताइन् ।