काठमाडौं । इ–सेवा कर्जा प्रदान गर्ने नेपालकै पहिलो डिजिटल वालेट कम्पनी बनेको छ । कम्पनीको बुधबार विज्ञप्ति जारी गर्दै कुमारी बैंक समेतको सहकार्यमा यस्तो कार्य सम्भव भएको जानकारी दिएको हो ।
इ–सेवाले विज्ञप्तिमार्फत भनेको छ, नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवाप्रदायक कम्पनी इ–सेवाले देशमा डिजिटल भुक्तानी प्रणालीको थालनीबाट देशमा डिजिटल रूपान्तरण गरी अर्थतन्त्रको मुहार फेरेको कुरा त सबैलाई अवगत नै छ । यसका साथसाथै मानिसहरूको जीवन तथा वित्तीय कारोबार सहज बनाउन इ–सेवाले समय–समयमा विभिन्न नवीनतम सेवाहरू विस्तार गर्ने कुरा पनि यथावत नै छ ।
हालै गुगल प्लेस्टोरमा एक करोडभन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट एप बनेको इ–सेवा अब प्रयोगकर्ताहरूलाई व्यवसाय वृद्धिको लागि सरल डिजिटल कर्जा प्रदान गर्ने नेपालको पहिलो डिजिटल वालेट पनि भएको छ । अब इ–सेवाबाट प्रयोगकर्ताहरूले विना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झटरहित क्षणभरमै दुई लाखसम्मको व्यावसायिक कर्जा सजिलै प्राप्त गर्न सक्नेछन् । कुमारी बैंक लिमिडेट र फोन लोनसँगको सहकार्यमा इ–सेवाले प्रदान गर्ने यस कर्जा सुविधालाई ईजी लोन नाम दिइएको छ ।
पहिलो चरणमा इ–सेवा एजेन्टहरूलाई मात्र उपलब्ध रहेको यो सेवा भविष्यमा चाँडै सम्पूर्ण इ–सेवा प्रयोगकर्ताहरूलाई उपलब्ध हुने इ–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले बताएका छन् । ईजी लोनको बारेमा थप बोल्दै प्रमुख कार्यकारी अधिकृत खड्काले सबै प्रयोगकर्ता, एजेन्ट तथा मर्चेन्टलाई अहिलेसम्मको साथ सहयोगको लागि धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्तै विभिन्न सेवाहरू लिएर आउने कुरामा पनि विश्वस्त पारे । भुक्तानी प्रदायक सेवाको रुपमा प्रख्यात इ–सेवाले आफ्ना प्रयोगकर्ताहरूलाई भुक्तानीबाहेकका अन्य थुप्रै नवीनतम सेवाहरू पनि प्रदान गर्ने नयाँ आयाम बियोन्ड पमेन्टको थालनी भएको घोषणा गरेको छ ।