पोसकान्त पोखरेल
बुटवल, असार १५
ओमसतिया गाउँपालिका रूपन्देही कृषिमा आत्मनिर्भर बन्दै निर्यातमुखी कृषि प्रणालीको नीतिमा लागेको छ । कृषि उत्पादनबाट रोजगारीका अवसरहरू सृजना गर्दै गाउँपालिकालाई आत्मनिर्भर बनाउने योजनामा रहेको गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुलले बताए ।
अध्यक्ष केवट राहुलका अनुसार गाउँपालिकाले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा पूर्वाधार जनशक्ति र क्षमता विस्तार गरी प्रभावकारी स्वास्थ्य सेवामा जनताको पहुँच बढाउने, कोरोना भाइरस (कोभिड–१९) बाट शिथिल बनेको आन्तरिक आयलाई चलायमान र गतिशील बनाउने, बजेट कार्यान्वयनमा सुधार गरी सुशासन प्रत्याभूत हुने प्रकृतिको रणनीतिअनुरूप आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले आगामी आर्थिक वर्षमा शिक्षालगायत सामाजिक क्षेत्रको विस्तार र विकास गर्ने, कृषि क्षेत्रमा उत्पादनका साधनमा सरल पहुँच र नवीनतम प्रविधिको उपयोग बढाउँदै युवा पुस्तालाई आकर्षित गर्ने, आर्थिक सामाजिक क्षेत्रको समग्र विकासमा टेवा पुग्नेगरी दिगो पूर्वाधार विकासमा जोड दिने, डिजिटल गाउँपालिकामा रूपान्तरण गर्नेगरी सूचना प्रविधिको विकास र उपयोगमा जोड दिने, सार्वजनिक खर्चलाई मितव्ययी एवं नतिजामुखी बनाउने योजना भएको बताए ।
उनले अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्नेलगायत आगामी आर्थिक वर्षका विशेष प्राथमिकताका कृषकहरूलाई व्यावसायिक पशुपालन तालिम सञ्चालन गर्न तथा उन्नत खालका पशुपन्छी वितरण गर्ने, पशुपन्छीमा लाग्ने विभिन्न किसिमका रोगहरूको रोकथाम तथा नियन्त्रण गर्न भ्याक्सिनेसन तथा औषधि खरिदमा सहयोग गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सशर्त अनुदानबाट राष्ट्रिय र स्थानीय स्तरमा खाद्य सुरक्षामा टेवा पु-याउने लक्ष्य रहेको बताए ।
साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट क्षेत्र) विकास कार्यक्रम र बाख्राका साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट क्षेत्र) विकास कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था समेत गरिएको पौडेलले बताए । गाउँपालिकाले कृषकलाई पशुपन्छी स्याहारको लागि हिउँदे तथा बर्खे घाँसको बीउ वितरण गर्न तथा पशुपालक कृषकको लागि च्यापकटर मेसिन वितरण गर्र्न, कृषकहरूका लागि धान, गहुँ, बसन्ते मकै, मसुरो, रहर, बोडी, मास, मुङ, सूर्यमुखी, उन्नत तरकारी, जैविक विषादी, जिङ सल्फेट, ढौँचाको मल अनुदानमा लागत साझेदारीमा वितरणमा समेत बजेट विनियोजन गरेको छ ।
कृषि प्रयोजनका लागि व्यावसायिक फर्म दर्ता गरी जग्गा भाडामा लिई व्यावसायिक खेती गर्ने किसानलाई आवश्यक बजेट विनियोजन गर्ने, मागमा आधारित कृषि यान्त्रिकीकरण औजारहरू वितरण गर्ने खाद्यान्न उत्पादनमा बढवा दिन विभिन्न किसिमका बेमौसमी तरकारी खेती, खाद्यान प्रविधि उत्पादन तालिम, तरकारी उत्पादन, कृषक पाठशाला सञ्चालन ल्याउने, व्यावसायिक रूपमा मौरी पालक कृषकलाई ७५ प्रतिशत अनुदानमा मौरीको घार, गोला वितरण गर्ने कृषि हाटबजार एग्रोभेटको व्यवस्थापन गर्न एवं वडा तथा पालिकास्तरीय कृषि सञ्जाल गठन गरी कृषि सहकारीलाई प्रोत्साहन गर्न गाउँपालिकाले बजेट विनियोजन गरेको जनाएको छ ।