प्रविधिको प्रयोग बढ्दै जाँदा नेपालमा डिजिटल वित्तीय कारोबार पनि तीव्र गतिमा बढिरहेको छ । भुक्तानीका मध्यमहरू मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल वालेट, कनेक्ट आईपीएस, डेबिट कार्ड, क्रेडिट कार्डको प्रयोग बढ्दै गएको हो । नगद बोक्नुपर्ने झन्झन् नहुने भएकाले क्यूआर भुक्तानी बढ्दै गएको छ । त्यसका लागि भुक्तानीका मध्यमहरू मोबाइल बैंकिङ र वालेटको प्रयोग तीव्ररूपमा बढेको केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०८१ असार मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ४६ लाख ४८ हजार आठ ४६ पुगेको छ । २०८१ जेठमा यो संख्या दुई करोड ४३ लाख ६३ हजार सात सय ७६ थियो । एक वर्षअघि २०८० असारमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड १३ लाख ६३ हजार नौ सय ८९ थियो ।मोबाइल बैंकिङपछि मोबाइल वालेट प्रयोगकर्ता धेरै छन् । २०८१ असार मसान्तमा मोबाइल वालेट प्रयोगकर्ताको संख्या दुई करोड ३४ लाख ६१ हजार एक सय सात छ । एक वर्षअघि २०८० असार मसान्तमा यस्तो संख्या एक करोड ८९ लाख ४१ हजार सात सय ९३ थियो । गत जेठमा दुई करोड ३० लाख ३८ हजार दुई सय ४० थियो ।
इन्टरनेट बैंकिङ प्रयोगकर्ता एक वर्षअघिको तुलनामा ६३ हजार एक सय २७ ले बढेको छ । गत आसरसम्म १९ लाख १९ हजार तीन सय २२ जनाले इन्टरनेट बैंकिङ प्रयोग गरेका छन् । एक वर्षअघि यस्तो संख्या १८ लाख ५६ हजार एक सय ९६ थियो । २०८१ जेठ मसान्तको तुलनामा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या असार मसान्तमा घटेको छ । जेठमा यस्तो संख्या १९ लाख ४५ हजार सात सय ३६ थियो ।
डेबिट कार्ड प्रयोगकर्ताको संख्या पनि एक वर्षमा छ लाख ४८ हजार ४३ बढेको छ । २०८० असारमा एक करोड २२ लाख ४५ हजार चार सय ८५ जनाले डेबिट कार्ड प्रयोग गरेकोमा २०८१ असारसम्म त्यो संख्या बढेर एक करोड २८ लाख ९३ हजार पाँच सय २८ पुगेको छ ।
क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या पनि बढेको छ । २०८० असार मसान्तमा दुई लाख ८२ हजार सात सय ७२ जनाले क्रेडिट कार्ड सुविधा लिएकोमा २०८१ असारमा त्यो संख्या बढेर दुई लाख ८९ हजार दुई सय ३९ पुगेको छ । एक वर्षअघि २०८० असारमा एक लाख ३९ हजार सात सय ७७ जनाले प्रिपेड कार्ड प्रयोग गरेकामा २०८१ असारमा त्यो संख्या बढेर एक लाख ८१ हजार सात सय २४ पुगेको छ ।