काठमाडौं । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभा पेश गरिएको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक राष्ट्रियसभाबाट पनि विनासंशोधन पारित भएको छ । सभाको बिहीबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव राखेका थिए । सभाले सो प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । त्यसअघि कानुनमन्त्री चौरसियाद्वारा प्रस्तुत ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्तावमाथि दफावार प्रारम्भ हुने जानकारी गराएका थिए । उक्त प्रस्तावमाथि कुनै सांसदले संशोधन प्रस्ताव दर्ता गराएका थिएनन् । सो प्रस्तावमाथि दलीय आधारमा छलफल भएको थियो । राष्ट्रियसभाले सो विधेयक पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएको छ । उक्त विधेयक प्रतिनिधिसभाबाट गत साउन ३० गते पारित भएको थियो । सो विधेयक २०७९ फागुन २५ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । प्रतिनिधिसभामा उत्पत्ति भएको सो विधेयक सभामुख देवराज घिमिरेबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष जानेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै सो ऐन कार्यान्वयनमा आउनेछ । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ९ गते आइतबार अपराह्न सवा १ बजे बस्नेछ ।
भैँसेपाटीमा निर्माणाधीन मन्त्री आवास दशैँसम्म सम्पन्न गरिने
काठमाडौ । सङ्घीय सरकारअन्तर्गतका मन्त्रीलाई उपलब्ध गराउने उद्देश्यले ललितपुर–१८ भैँसेपाटीमा निर्माणाधीन भवन अन्तिम चरणमा पुगेको छ । भवन निर्माणअन्तर्गत पहिलो चरणको काम सकिएको छ भने दोस्रो चरणको केही काम बाँकी छ ।
दशैँसम्म सबै काम पूरा गर्ने लक्ष्य राखेर तीव्र गतिमा काम भइरहेको आयोजना प्रमुख मचाकाजी महर्जनले बताए । मन्त्री आवास निर्माणका लागि विसं २०७६ कात्तिक २७ गते हनुमान कन्स्ट्रक्सनले ठेक्का लिएर पहिलो चरणको काम सुरु गरेको थियो । पहिलो चरणअन्तर्गत भवन निर्माण काम सकिए पनि स्वीमिङपुल, पार्किङ, हेलिप्याडलगायत दोस्रो चरणको काम भइरहेकाले आगामी दशैँसम्म पूर्णता दिने योजना रहेको आयोजना प्रमुख महर्जनले जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षसहित सङ्घीयमन्त्रीका लागि २७ वटा भवन बस्न मिल्नेगरी सम्पन्न भएका छन् ।
‘भवन निर्माण र भवनभित्रको काम सबै सकिएको छ, अब बाहिरको सजावट बाँकी छ’, महर्जनले भने, ‘हामीले यथाशीघ्र कामलाई पूर्णता दिने प्रयास गरिरहेका छौँ ।’ भैँसेपाटीमा ९६ रोपनी १० आना जग्गामा फैलिएको मन्त्री आवास निर्माणका लागि सरकारले एक अर्ब तीन करोड ४६ लाख ८३ हजार रुपैयाँ बजेट छुट््याइएको छ । आयोजनाका सवइञ्जिनियर राजीव यादवले मन्त्री आवास क्षेत्रभित्र जिम हल (व्यायामशाला), स्वीमिङ पुल, सामुदायिक भवन, किराना पसल तथा सुरक्षा निकायका लागि बस्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार प्रत्येक भवनको माथिल्लो तलामा योगका लागि कोठा छुट्याइएको छ ।
निर्माण व्यवसायीले भवन निर्माण पूर्णरूपमा आगामी दशैंसम्म सकिने भन्दै सम्पन्न भएका भवनमा मन्त्री बस्न मिल्ने जनाएको छ ।
हालसम्म अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, खानेपानीमन्त्री प्रदीप यादव, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी र राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे नयाँ आवासमा सरेका छन् । प्रदेश प्रमुख र प्रदेश मुख्यमन्त्रीका लागि २४ रोपनी जग्गामा भैँसेपाटीमा निर्माण गरिएका सातवटा भवन निर्माण सकिएर उद्घाटन भइसकेको आयोजना प्रमुख महर्जनले जानकारी दिए । उनका अनुसार प्रदेश मुख्यमन्त्री र प्रदेश प्रमुख काठमाडौं आउँदा बस्न ती आवास निर्माण गरिएको हो ।