पर्वत । जापानी नागरिकले मोदी गाउँपालिका–५ बाजुङस्थित सरस्वती माध्यमिक विद्यालयलाई बस खरिद गर्न रु. पाँच लाख ३५ हजार प्रदान गरेका छन् ।
२० वर्ष अगाडि उक्त विद्यालयका दुईवटा भवन जापानी नागरिक मात्सुसिता हिरोयुकी र उनकी पत्नी रियो मितोको आर्थिक सहयोगमा निर्माण भएको थियो । यसपटक उनीहरूले बस खरिद गर्न उक्त रकम विद्यालयका प्रधानाध्यापक अजय लामिछानेलाई बिहीबार हस्तान्तरण गरेका हुन् ।
यसअघि जापानको नागासाकी निची लायन्स क्लबले बस खरिद गर्न १० लाख प्रदान गरेको प्रधानाध्यापक लामिछानेले बताए । बस खरिद गर्न उक्त रकबाट अपुग भएपछि विद्यालयले स्थानीय मोदी गाउँपालिकासँग १५ लाख सहयोग मागेको थियो ।
मोदी गाउँपालिकाबाट उक्त ऋण सहयोग प्राप्त नभएको हुँदा जापानी दम्पतीबाट सहयोग भएको हो । विद्यालयका लागि यी दम्पतीले पाँचकोठे भवन निर्माण गरिदिएका थिए भने हरेक दुई वर्षमा विद्यालयमा नै आएर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनीहरूले गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, सीप र कला सिकाउने गरेका छन् ।
जापानी दम्पती स्थानीयवासी डा. खड्गबहादुर केसीमार्फत विद्यालयसँग जोडिएका हुन् । डा. केसी त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष हुन् ।