काठमाडौँ । सहकारीपीडितको बचत छिटो फिर्ता गर्न सरकारले पहल गर्नुपर्ने अभियानकर्मीले बताएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता नहुँदा उपचार गर्न कठिनाइ भएकाले यथाशीघ्र बचत पाउनुपर्नेमा जोड दिएको हो ।
महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५औँ दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडकमा शान्तिपूर्ण प्रदर्शन गर्न बाध्य भएको जानकारी गराइएको थियो ।
महासंघका अध्यक्ष कुशलव केसीले १६ महिनादेखिको आन्दोलनका क्रममा चार जना पीडितहरूले ज्यान गुमाइसकेको बताए । सहकारीपीडितले आफ्नो बचत फिर्ता पाऊन् भनी तेस्रो पटकको आन्दोलन सुरू गरेको १०१औंँ दिन पुग्ने अवसरमा भदौ १६ गतेदेखि शान्तिपूर्ण प्रदर्शन गरिने जानकारी पनि उनले दिए ।