काठमाडौं । रियलमी मिस्टर नेपाल २०२४ को उपाधि झापाका सन्तोष लोक्समले जितेका छन् । शनिबार राति राजधानीको सोल्टीमोडस्थित होटल सोल्टीमा सम्पन्न ग्रान्ड फिनालेमा शीर्ष उपाधि जितेसँगै सन्तोषले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने आगामी नोभेम्बरमा भियतनाममा हुने मिस्टर वर्ल्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
रियलमीको नेपाल र भारतका हेड अफ स्ट्राटेजी मुनिश गिरीले मिस्टर नेपाल एउटा प्रतियोगिता मात्र नभएर युवाहरूको समग्र व्यक्तित्वको पहिचान र उच्च मूल्याङ्कन गरिने प्लेटफर्म भएको बताए । प्रतियोगितामा भक्तपुरका योगेश श्रेष्ठ मिस्टर ग्लोबल नेपाल २०२४ भई आगामी अक्टोबरमा थाइल्यान्डमा हुने मिस्टर ग्लोबल २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । त्यस्तै, काठमाडौंका आयुष दुलालले म्यान अफ द वर्ल्ड नेपाल चुनिई म्यान अफ द वर्ल्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने भएका छन् । योगेश र आयुष दुवैले तीन लाख रुपैयाँ बराबरको विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा धरानका आदेश प्रधान फस्ट र हेटौंडाका आयुष बमजन सेकेन्ड रनर अप, आयुष बोमजन मस्ट पपुलर, सन्तोष लोक्सम म्यान अफ एलिगेन्स, प्रकाश चौहान मस्ट एक्टिभ, समिर तिमिल्सिना वेस्ट स्किन, आदेश प्रधान पब्लिक च्वाइस, साकार बजिमय मस्ट इन्टिलेक्चुयल, मनोज गुरुङ वेस्ट फिजिक, आयुष दुलाल वेस्ट पर्सनालिटी, पिन्टु सन्याल टुसाल मस्ट ट्यालेन्टेड, योगेश श्रेष्ठ मिस्टर फोटोजेनिक, पियुष श्रेष्ठ मेन च्वाइस, अनिकेत प्रजापति वेस्ट हेयर, अग्रज श्रेष्ठ मिस्टर स्टाइल आइकन, सिजल कपाली मिस्टर फेसनिष्टा र मनोज गुरुङ वेस्ट स्पोर्टस्मेनसिप अवार्ड विजेता भए ।
प्रशान्त ताम्राकारको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा फोटोग्राफर राजभाइ सुवाल, उद्यमी टिकाराम बुढाथोकी, अभिनेत्री, मोडल एवं रियलमीको ब्रान्ड एम्बास्डर नीति शाह, पूर्वमिस नेपालद्वय माल्भिका सुब्बा र नम्रता श्रेष्ठ तथा पूर्वमिस्टर नेपाल डा रूपक घिमिरे र सन्दीप पोखरेल निर्णायक रहेका थिए । उपाधिका लागि देशभरका ३८ जना युवाले प्रतिस्पर्धा गरेका थिए ।