दोलखा । दोलखाको वैतेश्वर गाउँपालिकाले सामुदायिक विद्यालयमा शिक्षकहरूका लागि विद्युतीय हाजिरी जडान गरेको छ । विद्यालयमा शिक्षकको निरन्तरता र विद्यालय समयभित्र अनिवार्य पठनपाठन गराउन गाउँपालिकाले विद्युतीय हाजिरी सञ्चालन गरेको हो ।
गाउँपालिकाबाटै निगरानी गर्ने गरी विद्युतीय हाजिरी सुरु गरिएको वैतेश्वर गाउँपालिकाकाका अध्यक्ष छवि लामाले बताए । विद्यालय नियमित सञ्चालन भए नभएको, शिक्षक आए नआएको जस्ता गुनासा सुन्न नपरोस् र गुणस्तरीय शिक्षामा सकारात्मक प्रभावका लागि विद्युतीय हाजिरी सुरु गरिएको अध्यक्ष लामाको भनाइ छ । गाउँपालिकाले माध्यमिक तहका ८ र आधारभूत तहका ४ वटा विद्यालयमा ई–हाजिर जडान गरेको हो । विद्युत्, कम्प्युटर, इन्टरनेट र अन्य आवश्यक सामग्री गाउँपालिकाले व्यवस्थापन गरेसँगै विद्युतीय हाजिरी सुरु गरिएको पालिकाका सूचना प्रविधि शाखा प्रमुख मनिक दाहालले जानकारी दिए ।
विद्युतीय हाजिरी जडानसँगै शिक्षकले बिहान १० बजे र साँझ ४ बजे अनिवार्यरूपमा हाजिरी गर्नुपर्ने हुन्छ । शिक्षा विकासको विषयलाई प्रमुखताका साथ जोड दिएको गाउँपालिकाले जगदेखि नै सुरु गर्ने गरी कार्य थालनी गरेको गाउँपालिकाले जनाएको छ । विद्युतीय हाजिरी जडानपछि शिक्षक नियमित हुने र निगरानी गर्न पनि सजिलो हुने कालीदेवी आधारभूत विद्यालय व्यस्थापन समितिका अध्यक्ष कमल अधिकारीले बताए । गाउँपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि अरू नयाँ अभ्यासको थालनी गरिरहेको छ । गाउँपालिकास्तरबाटै छड्के अनुगमन तथा विद्यालयमा सञ्चालन हुने परीक्षाको अनुगमन गर्नेलगायतका कार्य पनि गर्ने गरिएको उपाध्यक्ष कल्पना उप्रेतीले बताइन् ।
पछिल्लो समय विद्यालय आएका विद्यार्थी पनि बीचमै घर जाने, अधिकांश नियमित विद्यालय नआउने र शिक्षकले पनि प्रभावकारी शिक्षण सिकाइमा ध्यान नदिने जन गुनासो बढेपछि ई–हाजिरीको व्यवस्थापन गरिएको उप्रेतीले जानकारी दिइन् । गाउँपालिकाले वडा कार्यालय तथा स्वास्थ्य चौकी तथा अन्य सरकारी कार्यालयहरूमा पनि ई–हाजिरी लागू गरेको छ ।