काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरू, बैंकको नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेतको लिलाम बिक्री गर्नेसम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टलमार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिसम्बन्धी सम्पूर्ण किसिमका सूचनाको बारेमा जानकारी प्राप्त हुनेछ ।
यसमा ग्राहकको सहजताका लागि लिलाम बिक्रीसम्बन्धी प्रकाशित गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टलभित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं तथा क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेसन) पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारीहरू एकै ठाउँबाट प्राप्त गर्न सकिनेछ । यसरी ग्राहकले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ ।
बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा अब नियमितरूपमा बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा रहेको सम्पत्ति लिलाम बिक्रीसम्बन्धी सूचनाहरू प्रकाशित गरिने हुँदा इच्छुक ग्राहकहरूले अनलाइन पोर्टलको लिङ्कबाटै विस्तृत विवरणहरू लिन सक्ने भई लाभदायी हुने बैंकले विश्वास लिएको छ ।