सोलुखुम्बु, असार १६
नेपाली कांग्रेस सोलुखुम्बुले जिल्लाका ६ वटा स्थानीय तहलाई कोरोनापीडित बेरोजगार राहत कोष स्थापनाका लागि बीउपुँजी हस्तान्तरण गरेको छ । असार पाँच गतेबाट औपचारिक सुरुवात गरेको कार्यक्रम अहिलेसम्म ६ ओटा स्थानीय तहमा पुगिसकेको नेपाली कांगे्रस सोलखुम्बुका पूर्वसभापति आङगेलु शेर्पाले जानकारी दिए ।
उनका अनुसार नेचासल्यान, थुलुङ दूधकोशी, सोताङ, महाकुलुङ, माप्य दूधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिकालाई बीउपुँजी स्वरूप ५०/५० हजार रूपैँया हस्तान्तरण गरिएको छ । सबै स्थानीय तहमा गरी तीन लाख रकम हस्तान्तरण गरिएको शेर्पाको भनाइ छ । स्थानीय सरकारलाई सहयोग स्वरूप रकम हस्तान्तरण गरेको कांग्रेसले जनाएको छ । जिल्लाका ८ ओटा स्थानीय तहमध्ये बांँकी २ ओटा स्थानीय तहलाई पनि छिटै रकम हस्तान्तरण गरिने पूर्वसभापति शेर्पाले बताए ।
कोरोनाबाट विश्व नै आक्रान्त भएको अवस्थामा कोरोनाविरुद्धको जीतका लागि सहकार्य र एकताको आवश्यक्ता रहेको कांग्रेस नेता सूर्य कुलुङले बताए । विपत्मा सबै एक भएर अघि बढ्नुपर्ने भएकाले आफूहरूले कोष स्थापनको सुरुवात गरिएको कुलुङको भनाइ छ । यो रकम कोरोनापीडित बेरोजगार राहत कोष स्थापनाका लागि कांग्रेसले गरेको प्रयासलाई सबैले सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन् । हरेक स्थानीय तहमा कम्तीमा ५० लाखको कोष स्थापना गरेर कोरोनापीडित र बेरोजगार समस्या समाधानमा काम गर्नेगरी कांग्रेसले अवधारणा ल्याएको नेता आङगेलु शेर्पाको भनाइ छ ।