काठमाडौं । पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी बचतकर्ताको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग कास्की प्रहरीले छलफलका नाममा ‘कूटनीतिक’ तरिकाले बयान लिएको छ ।
पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेसँग प्रतिनिधिसभाले गठन गरेको संसदीय छानबिन समितिमा नौ घण्टा बढी बयान लिएलगत्तै कास्की प्रहरीको टोली काठमाडौंमै आएर छलफल भन्दै बयान लिएको हो ।
कास्की प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माको टोलीले दुई दिन बयान लिएको हो । स्रोतका अनुसार लामिछाने र उनको पार्टीका अर्का नेता सहमहामन्त्री विपिन कुमार आचार्य र नेपाल प्रहरीका अवकाशप्राप्त डीआईजी छविलाल जोशीसँग बयान लिएको हो । लामिछानेलाई गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशकको हैसियतमा बयान लिएको हो ।
आचार्य गोरखा मिडिया नेटवर्कका क्रिएटिभ डाइरेक्टर थिए । सूर्यदर्शन सहकारीबाट बचतकर्ताको पैसा गोरखा मिडिया नेटवर्कमा कानुनविपरीत लगानी भएको थियो । जोशी भने गोरखा मिडियाका संस्थापक हुन् । उनी गितेन्द्र बाबु (जिबी) राईका व्यावसायिक साझेदारसमेत हुन् । राई भने फरार छन् । राई उक्त गोरखा मिडियाका प्रमुख व्यक्ति हुन् ।