काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले सोमबार काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले आर्थिक वर्ष आव २०८०/८१ को मुनाफाबाट १५ दशमलव ५० प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ । सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरूमा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गरेको छ । साथै, आव २०८१/८२ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संस्थाको नियमावलीअनुसार गरिएको सञ्चालकको नियुक्ति अनुमोदन र सञ्चालकहरूको बैठक भत्ता परिमार्जन गरेको छ ।
नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अन्डर राइटर), सेयर रजिस्ट्रार तथा डि–म्याट खाताजस्ता लगानीकर्ताहरूसँग प्रत्यक्ष सरोकारका कामहरू गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजारस्थित बाटुलेघरमा संस्थाको रजिस्ट्रर कार्यालय रहेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन् ।