काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुबिसु केबल नेटबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रअनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सुबिसु केबल नेटको नयाँ जडानमा विभिन्न आकर्षक छुट पाउनेछन् । ग्राहकले तीन एमबीपीएस ब्यान्डविथ क्षमता भएको इन्टरनेट जडानको क्रममा १५ प्रतिशत साथै दुई सय एमबीपीएस र ८० एमबीपीएस इन्टरनेट जडानको क्रममा पाँच प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
बैंकले देशैभर ६० जिल्लामा फैलिएका आफ्ना एक सय ९७ वटा शाखा, एक सय ६२ वटा एटीएम, तीन वटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकार्ईबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।