काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आगामी दशकलाई आन्तरिक रोजगारीको दशकको रूपमा अघि बढाउन मन्त्रालय लागि परेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबार बैठकमा सांसद प्रेम सुवालले सोधेका प्रश्नको जवाफ दिँदै उनले बाध्यकारी वैदेशिक रोजगारीको अन्त्यका लागि स्वदेशमै रोजगार सिर्जनाका लागि आवश्यक वातावरण बनाउन मन्त्रालय प्रयासरत रहेको जानकारी दिएका हुन् । वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको सिप र पुँजीको सदुपयोग गर्दै मुलुक निर्माणको योजना सरकारको प्राथमिकतामा रहेको उनले बताए । यस्तै, उनले युवालाई स्वदेशमै राख्नका लागि रोजगारी सिर्जना गर्नुको विकल्प नभएको उल्लेख गरे । दैनिक सरदर दुई हजार एक सय १३ जना श्रम गर्न विदेशीने गरेको जानकारी दिँदै उनले वैदेशिक रोजगारमा गएका युवालाई स्वदेश फर्काउँदै पुनःएकीकरण गर्ने बताए ।
उनीहरूको सिप, संस्कार र संस्कृतिलाई सदुपयोग गर्न एवं विभिन्न स्टार्टअपसँग जाडेर मुलुक निर्माण गर्ने सरकारको प्राथमिकता रहेको उनले जानकारी दिए । हाल मात्रै सातवटै प्रदेशमा श्रमाधान रोजगार मेला सञ्चालन गरी आन्तरिक रोजगारी प्रवद्र्धन गरिएको उनको भनाइ थियो ।
यस्तै, उनले महिला कामदारलाई वैधानिक बाटोबाट घरेलु श्रमिकका रूपमा वैदेशिक रोजगारमा जाने व्यवस्था मिलाउँदै केही मुलुकमा ‘पाइलट प्रोजेक्ट’का रूपमा अघि बढाउने योजना रहेको बताए । महिला कामदारको वैदेशिक रोजगारीलाई थप सुरक्षित बनाउन विभिन्न देशसँग महिला कामदारलाई घरेलु काममा लगाउने विषयमा थप सुरक्षित एवं मर्यादित बनाउन घरेलु कामदारसम्बन्धी प्रोटोकलमा हस्ताक्षरका लागि दुईपक्षीय वार्ता भइरहेको उनले जानकारी दिए । प्रस्तावित प्रोटोकलमा महिला कामदारलाई थप सुरक्षित बनाउन संसदीय समितिले समय समयमा दिएका निर्देशनलाई समावेशगरी कार्य अघि बढाइएको उनको भनाइ छ ।