दोधारा चाँदनी (कञ्चनपुर) । महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको उदघाटन गर्दै गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् ।
उनले बुधबार उद्घाटन समारोहमा प्रहरीकोे सुविधासम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने बताए । उनले नेपाल प्रहरीलाई समयानुकुल अनुसन्धानका लागिसमेत अब्बल बनाउनुपर्ने धारणा व्यक्त गरे । पछिल्लो समय साइबर अपराध बढिरहेकाले प्रहरीले परम्परागत अपराधबाहेक साइबर अपराधमा पनि अनुसन्धान गर्नुपरेको उनको भनाइ थियो ।
उनले मुलुकमा दुई ठुला दल मिलेर ऐतिहासिक काम गरेको स्मरण गर्दै संसद्मा भएका दुई ठुला दलबीच सहमति भएर नयाँ राजनितिक समीकरण बनाएको बताए । उनले एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा कुनै शङ्का नर्गनसमेत आग्रह गरे ।
सम्पूर्ण नागकिरले गुणस्तरीय सेवा प्राप्त गर्न सकुन भन्ने उदेश्यले पूर्वाधार विकासमा जोड दिएको नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले बताए । उनले नवनिर्मित भवनले प्रदेश प्रहरीको अनुगमन र सुपरिवेक्षणमा सहज हुजे विश्वास व्यक्त गरे ।