काठमाडौं । सानिमा बैंक कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेका सानिमा म्युचुअल फन्डद्वारा सञ्चालित तीन वटा योजनाको लाभांश घोषणा भएको छ । कम्पनीको यही भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरणसम्बन्धी उक्त निर्णय गरेको हो । जसअन्तर्गत सानिमा इक्विटी फन्डले १५ प्रतिशतका दरले १९ करोड ५० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकका अनुसार सानिमा इक्विटी फन्ड बन्दमुखी योजना हो र यसको आकार एक अर्ब ३० करोड रुपैयाँ बराबरको रहेको छ ।
यसैगरी सानिमा लार्ज क्याप फन्डले पनि १० प्रतिशतका दरले हुन आउने १२ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरणको घोषणा गरेको छ । यो योजनाको आकार एक अर्ब २० करोड रुपैयाँको रहेको छ । सानिमा ग्रोथ फन्डले पनि १० प्रतिशतका दरले छ करोड ७२ लाख ५३ हजार दुई सय ६० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यो योजनाको आकार ६७ करोड २५ लाख ३२ हजार छ सय रुपैयाँ बराबरको रहेको छ ।