काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले अर्थतन्त्रको विकासका लागि सरकारलाई निजी क्षेत्रको सहयोग चाहिने बताएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधिसँग बुधबार भएको छलफलमा उनले आफ्नो कार्यकालमा निजी क्षेत्रले केही न केही भएको अनुभूति गर्ने बताए ।
पछिल्लो पटक केही कानुन संशोधन हुँदा त्यसले सकारात्मक काम गरेको भन्दै उनले कानुन सुधार गरेर अगाडि बढ्ने बताए । छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले समग्र अर्थतन्त्रको विकासका लागि नीतिगत स्थायित्व र कानुनी सुधारमा ध्यान दिइनुपर्ने बताए । अर्थतन्त्रका केही सूचक सकारात्मक देखिए पनि उत्पादनशील एवं निर्माण क्षेत्र अझै पनि चलायमान हुन नसकेको उनको भनाइ थियो । समग्र अर्थतन्त्रको विकासका लागि बजेटको प्रभावकारी कार्यान्वय एवं स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्नेमा उनले जोड दिए ।
परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले अनुकूल औद्योगिक वातावरण निर्माणका लागि प्रक्रियालाई सरलीकरण गरिनुपर्ने, रोजगारी थप बढाउन रोजगारी दिइरहेका उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए । छलफलमा परिसंघका उपाध्यक्षद्वय वीरेन्द्रराज पाण्डे, अमित मोर, पदाधिकारी सदस्य गोकुल भण्डारी, महानिर्देशक डा घनश्याम ओझालगायत सहभागी थिए ।