कर्जाको माग न्युन हुँदा आयात–निर्यात कर्जा अपेक्षा गरेअनुसार बढ्न सकेको छैन । अर्थतन्त्र चलायमान बन्न नसक्दा बजारमा वस्तु तथा सेवाको माग न्यून छ । आयात भएको सामान तत्काल बिक्री हुने स्थिति नभएपछि व्यवसायीहरूले कर्जा लिएर वस्तु आयात गर्न सकिरहेका छैनन् । त्यसैले बैंकहरूले आयात–निर्यातमा प्रवाह गरेको कर्जामा कमी आएकोे छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालनमा रहेका ५४ वटा संस्थाहरूले आयात–निर्यात अर्थात् ट्रस्ट रिसिट क्षेत्रमा कुल ८२ अर्ब ८३ करोड ५० लाख रूपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । यस अवधिमा बैंकिङ क्षेत्रको कुल कर्जा रकम ५१ खर्ब ६१ अर्ब ७१ करोड रूपैयाँ पुगेको भए पनि आयात–निर्यात क्षेत्रमा कर्जामा मागमा कमी आउँदा यस्तो कर्जा रकम ८० अर्बको हाराहारीमा देखिएको हो ।
आयात–निर्यात क्षेत्रमा प्रवाह भएको कुल कर्जा रकम अघिल्लो आर्थिक वर्षको तुलनामा नौ अर्ब २५ करोड ७० लाख रूपैयाँले मात्र बढी हो । बैंक तथा वित्तीय संस्थाहरूले कुल ४८ खर्ब ७३ अर्ब ८० करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा आयात–निर्यात क्षेत्रमा मात्र प्रवाह गरेको कुल कर्जा रकम ७३ अर्ब ५७ करोड ८० लाख रूपैयाँ थियो ।
आर्थिक वर्ष २०८०÷८१ मा कुल ४५ खर्ब ६० अर्ब ५८ करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा आयात–निर्यात क्षेत्रमा मात्र ८२ अर्ब ७१ करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा नौ अर्ब २५ करोड १० लाख रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरूले कुल ४३ खर्ब आठ अर्ब ९९ करोड रूपैयाँ कर्जा प्रवाह गरेकोमा आयात–निर्यात क्षेत्रमा मात्र भने कुल ७३ अर्ब ४६ करोड ६० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् ।
विकास बैंकहरूले भने आर्थिक वर्ष २०८०÷८१ कुल पाँच खर्ब एक अर्ब रूपैयाँको हाराहारीमा कर्जा प्रवाह गरेको भए पनि आयात–निर्यात क्षेत्रमा प्रवाह गरेको कर्जा रकम भने शून्य छ । अघिल्लो आर्थिक वर्षमा पनि विकास बैंकहरूले कुल चार खर्ब ७१ अर्ब रूपैयाँको हाराहारीमा कर्जा प्रवाह गर्दा आयात–निर्यातमा प्रवाह गरेको कर्जा शून्य थियो ।
फाइनान्स कम्पनीहरूले भने आर्थिक वर्ष २०८०÷८१ मा कुल ९९ अर्ब ६९ करोड रूपैयाँ हाराहारी कर्जा प्रवाह गर्दा आयात–निर्यात क्षेत्रमा ११ करोड ८० लाख रूपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६० लाख रूपैयाँले मात्र बढी हो । अघिल्लो आर्थिक वर्षमा फाइनान्स कम्पनीहरूले कुल ९२ अर्ब ९३ करोड रूपैयाँको हाराहारीमा कर्जा प्रवाह गर्दा आयात–निर्यात क्षेत्रमा भने ११ करोड २० लाख रूपैयाँबराबरको कर्जा प्रवाह भएको थियो ।