काठमाडौँ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५औँ स्मृति दिवसलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ता जनताका अधिकार रक्षा गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।
जनताको बलिदान र अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिदै अध्यक्ष दाहालले सहिद रामवृक्ष यादवको बलिदानले देशभरिका युवालाई क्रान्तिमा लाग्न उत्प्रेरित गरेको र त्यसपछिका सबै सहादतहरूले क्रान्तिकारीहरूलाई प्रतिशोधको भावनासहित अघि बढाउन सहयोग गरेको बताए ।
सुरेश वाग्ले पार्टी जिम्मेवारीको हिसाबले सबैभन्दा माथिल्लो तहमा भएको अत्यन्त सचेत, योग्य र लोकप्रिय शिक्षकको रुपमा पनि स्थापित व्यक्तित्व भएको उल्लेख गर्दै अध्यक्ष दाहालले वाग्लेको सहादतपछि पार्टीलाई ठूलो क्षति भए पनि सिङ्गो पार्टीपङ्क्तिमा बलिदानीभाव पनि त्यहीअनुसार उच्चस्तरबाट वृद्धि भएको बताए ।