काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्यारालम्पिकमा तेक्वान्दोमा कास्य पदक विजेता पलेशा गोवर्द्धनलाई सम्मान गरेको छ । महासंघले शुक्रबार एक कार्यक्रमको बीच गोबर्द्धनलाई तीन लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो ।
यस्तै, महासंघले गोवर्द्धनका प्रशिक्षक कविराज नेगी लामालाई एक लाख २५ हजार रुपैयाँ र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँसहित सम्मान गरेको छ । गोवर्द्धन प्यारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघका सदस्य एवं सम्पूर्ण निजी क्षेत्रलाई प्रतिभावान खेलाडी र खेल क्षेत्रलाई यथासम्भव सहयोग बढाउन आग्रह गरेका थिए । ‘नेपाली युवाहरू प्रतिभावान छन्,’ उनले भने, ‘विश्वका अन्य मुलुकजस्तै नेपालमा सरकारसँगै निजी क्षेत्रले पनि खेल क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्छ ।’
गोवर्द्धनले २०२४ पेरिस प्यारालम्पिक खेलमा तेक्वान्दोमा कास्यपदक जित्दै नेपाली खेलकुदको इतिहासमा नयाँ अध्यायको सुरुवात गरेकी छन् । यो पदक नेपालका लागि ओलम्पिकमा पहिलो पटक हासिल भएको हो । गोवर्धनले आफ्नो सफलताले भविष्यका खेलाडीलाई प्रेरित गर्ने बताइन् । महिलाहरूको ५७ केजी के–४४ वर्गमा गोवर्द्धनले सर्बियाकी मारिजा माईसिभलाई १५–८ ले पराजित गर्दै कास्य पदक हात पारेकी थिइन् । पेरिस प्यारालम्पिकमा गोवर्द्धनको ऐतिहासिक विजयी नेपाली खेलाडीको लागि अन्तर्राष्ट्रिय मञ्चमा नयाँ मापदण्ड स्थापित गरेको हुँदा नेपालका लागि गर्वको क्षण भएको महासंघ अध्यक्ष ढकालको भनाइ छ ।