वीरगञ्ज (पर्सा) । जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज महानगरपालिका–१६ एकाइ समितिले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज र आसपासका क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
जनतालाई स्वच्छ खानेपानी पुर्याउनु सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्री यादवले विद्यमान खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न मन्त्रालयबाट प्राथमिकताका साथ योजना अघि सारेको बताए ।
“पानीको समस्याले जनतालाई सास्ती भइरहेको छ, यो विषयमा सरकार गम्भीर छ, दीर्घकालीन समाधानका लागि योजना बनाइरहेका छौँ”, मन्त्री यादवले भने, “हामीले यो विषयमा ध्यान केन्द्रित गरेका छौँ र शीघ्र समाधान हुनेमा प्रतिबद्ध छौँ ।”
जसपाका उपमहासचिवसमेत रहेका मन्त्री यादवले पार्टीको नीतिगत निर्देशनका आधारमा जनताको सेवा र कल्याणमा आफू निरन्तर सक्रिय रहेको बताए । जनताको आशा र अपेक्षालाई सम्बोधन गर्न आगामी दिनमा थप प्रभावकारी योजनाहरु अघि बढाइने र जसपाले आगामी चुनावमा जनताको समर्थन पाउन सक्नेगरी सङ्गठनलाई सुदृढ बनाइने उनको भनाइ छ ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले स्थानीय विकास र जनसेवामा आफ्नो पूर्ण समर्पण रहेको बताए । सिंहले पार्टीको साझा उद्देश्यलाई साकार बनाउन कार्यकर्ता सबै एकतामा बाँधिएर जनताका आवश्यकतामा केन्द्रित भई काम गर्नुपर्नेमा जोड दिए ।