अमेरिका, असार १६ रियालिटी टिभी स्टार तथा समाजसेवी मोडल किम कार्दाशियन वेस्टले आफ्नो कस्मेटिक व्यवसाय २० करोड अमेरिकी डलरमा फ्रेन्च सौन्दर्य कम्पनी कोटीलाई बिक्री गरेकी छिन् । यो बिक्रीले आफूलाई विश्वसामु पुग्न सहज हुने उनको भनाइ छ । कार्दाशियन चर्चित सेलिब्रिटी हुन् । उनका फलोअर सामाजिक सञ्जालमा ३० करोड भन्दा धेरै छन् । गत जनवरीमा कोटीले कार्दाशियनकी बहिनी कायली जेनरको ६० करोड डलरको सेयर खरिद गरेको थियो । जेनरजस्तै कार्दाशियनले पनि २००० को दशकको अन्त्यतिर रियालिटी टिभी शो किपिङ अप विथ कार्दाशियनमार्फत विश्व चर्चा बटुलेकी थिइन् । उनले सन् २०१७ मा पहिलो कस्मेटिक रेन्ज लन्च गरेकी थिइन् । कोटीसँगको सम्झौतामा गरिएको मूल्यांकनअनुसार त्यसको मूल्यांकन १ अर्ब डलरको छ । सम्झौताअनुसार कोटीले केकेडब्लुको २० प्रतिशत र यसको छाला, कपाल र नङ सुरक्षा सामग्रीको रेखदेखको दायित्व आफूले लिएको छ । विश्वकै ठूलो सौन्दर्य कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्ने एउटा महत्वपूर्ण सम्झौता यसलाई मानिएको छ ।