काठमाडौं । सशस्त्र प्रहरीले पर्साको वीरगञ्जस्थित तीन वटा गोदाममा छापा मारेको छ । भारतबाट अवैधरूपमा समान ल्याएर राखेको पाइएकोले ती गोदामहरूमा छापा मारिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले सो गोदामबाट करीब २० लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
वीरगञ्ज महानगरपालिका–१६ स्थित नगवा इलाकामा रहेको खुस्बु चकलेट उद्योगको गोदाममा शनिबार सशस्त्र प्रहरीले छापा मारेको थियो । सो ठाउँबाट प्रहरीले सात लाख ८० हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट अवैधरूपले ल्याई सो उद्योगको गोदाममा भण्डारण गरी राखेको तीन लाख छ हजार रुपैयाँको चकलेट, चिनी र बोरा सिलाउने तथा जोख्ने मेसिनहरू र सोही ठाउँको एक घरमा लुकाइ राखेको चार लाख ७३ हजार रुपैयाँको काजु, खजुर, बदाम, विस्कुट, अजिरलगायतका समान सशस्त्र प्रहरीले बरामद गरेको हो । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा गोदाममा छापामारी बरामद गरेको जनाइएको छ ।
यसैगरी सोही महानगरपालिका–८ मिनाबजारस्थित पारस प्रसाद एन्ड राजेश कुमार सप्लायर्सको गोदाममा पनि छापा मारी अवैध सामान बरामद गरिएको छ । त्यहाँ भण्डारण गरी राखिएको दुई लाख ७० हजार रुपैयाँको आलु र प्याज बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै, सशस्त्र प्रहरीले शनिबार सोही महानगरपालिका–१० आदर्शनगरबाट नौ लाख ४५ हजार रुपैयाँ बराबरको काजु, मरिच र टेम्पोसहित एक जनालाई नियन्त्रणमा लिएको छ । ना २ ह ५९६ नम्बरको टेम्पोमा लोड गरिएको सो सामानसहित बारा जिल्लाको विश्रामपुर गाउँपालिका–२ बैरैनिया बस्ने २५ वर्षीय विनोद कुशवाहालाई प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौजले यस अघि पनि सो क्षेत्रका विभिन्न गोदाममा छापामारी करोडौँ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । नियन्त्रणमा लिइएको अटो र बरामद सामान वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।