काठमाडौं । विश्व साक्षरता दिवसको अवसर पारी महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ बीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौताअनुसार विभिन्न सार्वजनिक÷सामुदायिक शैक्षिक संस्थामा आवश्यक स्तरोन्नति तथा शौचालयहरू निर्माण तथा सुधार गर्न बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक समन्वय तथा सहयोग गर्नेछ । यसबाट संयुक्त राष्ट्र संघले अख्तियार गरेको दिगो विकास लक्ष्य ‘सफा पानी र सरसफाइमा सबैको पहँुच’ हासिल गर्न सहयोग पुग्ने साथै बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरसफाइ तथा शौचालय सुविधामा पहुँच अभिवृद्धि गर्ने बैंकको नीति अनुरूप प्रभावकारीरूपमा कार्यान्वयन गर्न समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरतरूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको हाल देशभर एक सय तीन वटा शाखा कार्यालयहरू र करिब आठ लाख ग्राहक रहेका छन् । साथै, मिति २०८० पुस २८ मा सम्पन्न बैंकको २२औँ वार्षिक साधारणसभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।