काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई जारी गर्न लागेको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख पाँच हजार कित्ता सेयर निष्काशनको लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड तथा नबिल इन्भेस्टमेन्ट बंैकिङ लिमिटेडलाई सेयर निष्काशन एवं बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
एक कार्यक्रमका बीच नेपाल एसबीआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, नबिल इन्भेस्टमेन्ट बंैकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले उक्त सेयर प्रत्याभूति प्रदान गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नेपाल एसबीआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभूति सेवा, हितग्राही खाता सञ्चालनसम्बन्धी सेवा, संस्थागत परामर्शसम्बन्धी सेवा तथा सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली जिल्लाको धनगढीमा मुख्य कार्यालय स्थापना गरी नेपाल बीमा प्राधिकरणबाट बीमा ऐन २०७९ तथा बीमा नियमावली २०४९ बमोजिम मिति २०७९ चैत २८ गते इजाजत प्राप्त गरी मिति २०८० असार ३१ गते कारोबार सुरु गरेको हो । कम्पनीले सम्पत्ति बीमा, घर (आवास) बीमा, दुर्घटना बीमा, मोटर बीमा, स्वास्थ्य बीमालगायतका लघु निर्जीवन बीमासम्बन्धी सेवा ललितपुर, गुसिङ्गालमा रहेको प्रादेशिक कार्यालयसहित आफ्ना देशभर छरिएका तीन वटा शाखा, ११ उप–शाखा तथा १४ विस्तारित (एक्सटेन्सन) शाखा कार्यालयमार्फत प्रदान गर्दै आइरहेको छ । यस कम्पनी, कम्पनी ऐन २०६३ बमोजिम मिति २०७९ पौष १२ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा विधिवत दर्ता भएको हो ।