काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय सहयोग संस्था रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ को सहकार्यमा देशका विभिन्न भागमा सञ्चालन हुने ‘आधारभूत शिक्षा तथा साक्षरता’ कार्यक्रममार्फत पिछडिएका वर्गको साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सहयोग गर्न दुई संस्थाबीच यही भदौ २३ गते सहमतिपत्रमा हस्ताक्षर गरेको हो । उक्त सहमतिपत्रमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको तर्फबाट सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ को तर्फबाट अध्यक्ष राजेन्द्रमान शेरचनले हस्ताक्षर गरेका हुन् । सो कार्यक्रममा बीमा कम्पनीको तर्फबाट सञ्चालक भरतकुमार तोदी, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ तर्फबाट अन्य पदाधिकारीको उपस्थिति रहेको थियो ।
सहमतिअनुसार सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले उक्त संस्थालाई पाँच लाख रुपैयाँ प्रदान गर्नेछ । उक्त रकममध्ये दुई दशमलव पाँच लाख शौचालय निर्माणको लागि र बाँकी रकम संस्थाको विभिन्न रोटरी क्लबमार्फत देशका सामुदायिक तथा सार्वजनिक स्कुलमा सञ्चालन हुने टिच कार्यक्रमअन्तर्गत युवा साक्षरता प्रयोजनका लागि उपयोग गरिने छ ।
सो कार्यक्रममा बोल्दै अध्यक्ष केडियाले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी समाजमै रहेर गरिने व्यवसायमा सफल हुन समाजलाई नै सफल बनाउनुपर्छ भन्ने मान्यतामा अघि बढेको र संस्थागत नागरिकको भूमिकामा सामाजिक विकासको विभिन्न क्षेत्रमा योगदान दिन सदैव तत्पर रहेको बताए । साथै ‘आधारभूत शिक्षा तथा साक्षरता’ कार्यक्रममार्फत आधारभूत शिक्षा पनि नपाएका वर्गले शिक्षाको उज्यालो घाम देख्न पाउने विश्वास व्यक्त गरे ।
कम्पनीले हाल सबै क्षेत्रमा गरी एक सय ७० वटा शाखा तथा उपशाखाहरू, ५० हजारभन्दा बढी अभिकर्ताहरू तथा १८ वटा योजनामार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म नौ लाख ५० हजारभन्दा बढी व्यक्तिले कम्पनीबाट जीवन बीमा सेवा प्राप्त गरेको कम्पनीको भनाइ छ ।