बारा, असार १७
बाराको फेटा गाउँपालिका वडा नम्बर ४ मा निर्माण गरिएको सडक ढलानको कार्य एक दिन नबित्दै भत्किएको छ । शनिबार दिउँसो भएको सडक ढलान कार्य २४ घण्टा नबित्दै भत्किएको स्थानीयबासीले बताएका छन् । १० लाखको लागतमा उक्त सडक ढलान कार्य गत शनिबार सम्पन्न गरिएको थियो । ढलान सम्पन्न गरेको भोलिपल्ट नै भत्किएको स्थानीयको भनाइ छ । स्थानीयको चौतर्फी विरोधपछि भत्किएको उक्त सडकमा फेरि ढलान गरिएको छ । उक्त सडकलाई पुनः ढलान गरिए पनि सडकको पर्खाल भासिएर सडक जोखिममा परेको छ ।
उपभोक्ता समितिमार्फत उक्त सडक ढलानको काम गरिएको थियो । उक्त सडक ढलानको कार्य कतिखेर तल खसेर ठूलो दुर्घटना हुनसक्ने हो ठेगान रहेको स्थानीयले बताए । इन्जिनियर र स्थानीय जनप्रतिनिधिकै सहयोगमा कमसल समग्री प्रयोग गरी ढालिएको स्थानीयले आरोप लगाएका छन् । भत्किएको सडक ढलानको ठाउमा मात्र सिमेन्ट प्रयोग गरी टालिएको छ । सडक निर्माणमा भएको अनियमितताको ढाकछोप गर्न रातिको मौका छोपी सडक टालिएको स्थानीयको भनाइ छ । फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले उक्त ढलानको विषयमा आफूलाई सबै जानकारी भइसकेको र भुक्तानी समेत रोकिने बताए ।