काठमाडौं । नेपाल बैंक लिमिटेडको नगद निक्षेप मेसिन सञ्चालनमा आएको छ । आफ्ना ग्राहकलाई सधैं नवीनतम डिजिटल बैंकिङ सेवा प्रदान गर्ने नेपाल बैंकको ध्येय अनुरूप नेपाल बैंकले न्युरोड, धर्मपथ, काठमाडौँमा रहेको आफ्नो मुख्य शाखा काठमाडौं बैंकिङ अफिसमा पहिलो नगद निक्षेप मेसिन एक कार्यक्रम माझ उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो ।
सो नगद निक्षेप मेसिनको समुद्घाटन गर्दै बैंकले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटलमैत्री बनाउँदै अत्याधुनिक बैंकिङ सेवा विस्तार गरिँदै लगिने जनाएको छ । नयाँ जडान गरिएको मेसिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहकलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको छ ।
बैंकले हाल आफ्नो दुई सय २९ वटा शाखा, ५९ एक्टेन्सन काउन्टर र दुई सय चार एटीएम काउन्टरबाट सेवा प्रदान गरिरहेको छ । अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्न सधैँ कटिबद्ध रहेको बैंकको भनाई छ ।