काठमाडौं । ग्लोबल ग्ल्यामर भेन्चरद्वारा आयोजित ‘मिस युनिभर्स नेपाल २०२४’ को ताज सम्पदा घिमिरेले जितेकी छन् । यो सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको पाँचौँ नेपाली संस्करण हो । २२ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।
अमेरिकी कम्पनीका लागि डिजिटल मार्केटिङको काम पनि गर्दै आएकी सम्पदा मोडलिङ पनि गर्दै आएकी छन् । उनले आगामी नोभेम्बरमा मेक्सिकोमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । बुधबार साँझ ललितपुरको गोदावरी कन्भेन्सन सेन्टरमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पहिलो रनरअप स्मृति सिंह, दोस्रो रनरअप अक्षिता क्षेत्री, तेस्रो रनरअप करेन मुर्रे र चौथो रनर अप सुजल बम भए । प्रतियोगीलाई नेसनल कोरियोग्राफर दिक्पाल कार्कीले कोरियोग्राफी गरेका थिए । कार्यक्रममा अरू विभिन्न उपशीर्षकमा विजेता पनि छानिएको थियो । करेन मुर्रेले हिल्टन मिस एलिगेन्स, स्मृति सिंहले टीभीएस् मिस स्मार्ट, समृद्धि केसीले वाउ मिस फ्रि एन्ड फियरलेस, श्रेयङ्का थापाले ग्लोबल आएमई मिस इको फ्रेन्ड्ली, करेन मुर्रेले डिकस्मो मिस द मोस्ट ब्युटिफुल स्किन त्यस्तै गरी स्मृति सिंहले एक्स एज मिस फोटोजेनिक, अस्मी ढकालले मिस मल्टीमिडिया र रेनाता कट्टेलले मिस फ्रेन्ड्ली उपाधि जित्न सफल भएका छन् ।