जर्मनी । मुद्रास्फितिमा आएको सुस्तता र आर्थिक परिदृश्य अँध्यारो हुँदै गएपछि युरोपेली केन्द्रीय बैंकले बिहीबार फेरि ब्याजदर कटौती गर्ने अपेक्षा गरिएको छ । बढ्दो उपभोक्ता मूल्यलाई सम्बोधन गर्न सन् २०२२ को मध्यदेखि उच्च गतिमा दरहरू बढाएको युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले मुद्रास्फीति दर घटेकाले ब्याजदर कम गर्न थालेको हो ।
जर्मनीको फ्रयाङ्कफर्टस्थित बैंकले गत जुनमा पहिलो पटक निक्षेपको ब्याजदर चार प्रतिशतबाट घटाएर तीन दशमलव ७५ प्रतिशतमा झारेको थियो ।
ईसीबीको प्रशासकीय परिषद् (गभर्निङ काउन्सिल)ले जुलाईमा उधारो लागतलाई नियन्त्रणमा राखेको थियो तर अर्को त्रैमासिक बिन्दु बिहीबार ब्याजदरमा कटौती गर्ने अपेक्षा गरिएको छ । यो निर्णयले व्यवसाय र नागरिकहरूलाई थप राहत प्रदान गर्नेछ ।
युरो प्रयोग गर्ने २० देशका लागि मौद्रिक नीति तय गर्ने ईसीबीबाट सन् २०१९ पछि यो दोस्रो दर कटौती हुनेछ । बेरेनबर्ग बैंकका अर्थशास्त्री होल्गर स्माइडिङले भने, ‘हालका सबै ईसीबी वक्ताहरूले दरहरू घटाउन चाहेशो पुष्टि गरेका छन् ।’
नीति निर्माताहरूको कटौतीको साथ अगाडि बढ्ने विश्वासलाई विगत एक वर्षमा उथलपुथल भएको मुद्रास्फीति अब अझ निरन्तर गिरावटको मार्गमा रहेको सङ्केतलाई बल दिएको छ ।
युरो जोनको मुद्रास्फीति अगस्टमा तीन वर्षयताकै न्यून विन्दुमा झरेको आधिकारिक तथ्याङ्कले देखाएको छ । उपभोक्ता मूल्य वृद्धि ठीक एक वर्षअघिको तुलनामा दुई दशमलव दुई प्रतिशतमा खुम्चिएको छ, जुन जुलाईको दुई दशमलव छ प्रतिशतबाट पनि कम हो ।
सन् २०२२ को अक्टोबरमा रुसले युक्रेनमाथि गरेको आक्रमण र महामारीपछिको आपूर्ति शृङ्खलाको समस्याका कारण खाद्यान्न र ऊर्जाको लागत बढेपछि मुद्रास्फीति दर १० दशमलव छ प्रतिशत पुगेको थियो ।
अमेरिकी फेडरल रिजर्भले पनि हालैको कमजोर तथ्याङ्क र लामो समयको बजारको उथलपुथलपछि अर्को हप्ता आफ्नो बैठकमा ब्याजदर कटौती सुरु गर्ने तयारी गरेको छ । यसले ईसीबी नीति निर्मातालाई पनि उनीहरूको आफ्नै कटौतीको साथ अगाडि बढ्ने बारेमा आत्मविश्वास बढाउनेछ । लगानीकर्ताले ईसीबीकी प्रमुख क्रिस्टिन लेगार्डको बैठकपछिको पत्रकार सम्मेलनलाई नजिकबाट नियालिरहेका छन् ।
आइएनजी बैंकका अर्थशास्त्री कास्टर्न ब्रेजेस्कीले भने, ‘यो अव्यवस्थित तस्बिरको अर्थ सेप्टेम्बरपछिको ब्याजदर कटौतीको निर्णय वित्तीय बजारको मूल्यभन्दा बढी जटिल र विवादास्पद हुन सक्छ । फलस्वरूप, हामी बिहीबारको बैठकमा कुनै नयाँ अग्रगामी मार्गदर्शनको अपेक्षा गर्दैनौँ ।’ रासस/एएफपी