नयाँदिल्ली । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का महासचिव सीताराम येचुरीको बिहीबार निमोनियाका कारण निधन भएको छ । उनलाई अगस्ट १९ मा दिल्लीको एम्समा भर्ना गरिएको थियो ।
उनलाई पहिला आपत्कालीन वार्डमा भर्ना गरिएको थियो र फेरि गहन चिकित्सा एकाइ (आईसीयू) मा स्थानान्तरण गरिएको थियो । सीपीआई (एम)का नेता हन्नान मोल्लाले भने, ‘सिपिआई (एम) का महासचिव सीताराम येचुरी रहनुभएन, उहाँलाई एम्समा भर्ना गरिएको थियो ।’ उनले येचुरी लोकतन्त्र, धर्मनिरपेक्षता, एकता र मुलुकको एकताबद्ध प्रगतिको पक्षमा बलियो आवाज भएको बताए ।
बहत्तर वर्षीय येचुरीको बिहीबार दिउँसो स्थानीय समयानुसार तीन बजेर पाँच मिनेटमा निधन भएको एम्सले पुष्टि गरेको छ । परिवारले उनको शरीर शिक्षण र अनुसन्धान उद्देश्यका लागि एम्स, नयाँदिल्लीलाई दान गरेको छ ।
३२ वर्षसम्म सीपीएम पोलिटब्युरोमा रहेका र सन् २०१५ देखि पार्टीको महासचिवका रूपमा काम गरेका येचुरी प्रमुख भारतीय राजनीतिज्ञ थिए । यसबाहेक उनले सन् २००५ देखि सन् २०१७ सम्म भारतीय संसद्को माथिल्लो सदन राज्यसभामा पश्चिम बंगालको प्रतिनिधित्व गरेका थिए ।
यसैबीच भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले आफ्नो महासचिव येचुरीको निधनमा श्रद्धाञ्जलि अर्पण गर्दै दिल्लीस्थित आफ्नो पार्टीको झन्डा आधा झुकाएर शोक व्यक्त गरेको छ । रासस/एएनआई