काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् उत्पादनसँगै प्रसारणलाइनको क्षमता विस्तार गर्न निजी क्षेत्रलाई पनि प्रसारण लाइन निर्माणको जिम्मा दिने बताएका छन् ।
सुदूरपश्चिम सरोकार मञ्चको तर्फबाट प्रतिनिधिसभामा दार्चुला र बझाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तथा विभिन्न राजनीतिक दलले आइतबार बुझाएको ज्ञापनपत्र बुझ्दै ऊर्जामन्त्री खड्काले निजी क्षेत्रले पनि प्रसारण लाइन निर्माण गर्नगरी कानुनी व्यवस्था गर्न लागेको जानकारी दिए । ‘विद्युत् उत्पादनसँगै प्रसारणलाइनको समस्या देशभर छ’, उनले भने, ‘उक्त समस्यालाई समाधान गर्न प्रसारणलाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिनेगरी कानुनी व्यवस्था गर्दैछौँ ।’
ऊर्जामन्त्री खड्काले जलविद्युत् केन्द्र र प्रसारणलाइन निर्माणका क्रममा देखिएका वन र जग्गा प्राप्तिसम्बन्धी समस्या समाधान गर्न सरकारले नीतिगत तहबाट काम गरिरहेको बताए । दार्चुला, बझाङ, बाजुरा, अछामलगायत सुदूरपश्चिममा उत्पादित विद्युत्को आन्तरिक खपतसँगै बाँकी भारतमा निर्यात गर्नेगरी सरकारले क्षमता विस्तार गर्न लागेको उनले जानकारी दिए । ऊर्जामन्त्री खड्काले आगामी १० वर्षभित्र २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएकाले उक्त लक्ष्यलाई पूरा गर्न बाधा पर्ने ऐन, कानुन, नीतिनियमलाई परिमार्जन गरेर अगाडि बढ्न खोजिएको बताए । उनले एक वर्षभित्र सुदूरपश्चिमका ग्रामीण भू–भागमा विद्युतीकरण गर्नेगरी सरकारले काम गरिरहेको जानकारी दिए ।
दार्चुलाबाट प्रतिनिधित्व गर्ने सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई छिमेकी मुलुक भारतमा निर्यात गर्नका लागि यथाशीघ्र प्रसारणलाइन निर्माण गरिदिन आग्रह गरेका थिए । उनले आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने सहमति भइसकेकाले चमेलिया नदी जलाधार, सेती नदी जलाधार क्षेत्रमा निर्माण सम्पन्न गर्न पहल गरिदिन आग्रह गरे । साथै, निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित करिब दुई सय मेगावाट विद्युत् भारत निर्यात गर्न सकिने भएकाले सोहीअनुसार संरचना निर्माण गर्न बडूले सरकारसमक्ष माग गरे ।
छलफलमा नेपाली कांग्रेसका नेतासमेत रहेका सांसद बडूसहित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता एवं बझाङबाट प्रतिनिधित्व गर्ने सांसद भानुभक्त जोशी, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता एवं पूर्वसांसद गणेशसिंह ठगुन्ना, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेश चन्द, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता नरबहादुर विष्टलगायत उपस्थित थिए ।