काठमाडौँ । युवा विश्व हिन्दु महासङ्घ हनुमानढोकाको आयोजनामा काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि सोमबार ५०४ कन्या कुमारीहरुको सामूहिक पूजा सम्पन्न गरिएको छ । हनुमानढोका दरबार क्षेत्रमा येँया (इन्द्रजात्रा)को अवसर पारेर यो पूजा गरिएको हो ।
आयोजक राजन महर्जनले युवा विश्व हिन्दु महासङ्घको आयोजनामा १९औं पटक कुमारी पूजा भएको जानकारी दिए । नेवार समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन रहिआएको छ । ससाना बालिकाहरूलाई कुमारीको भेषभूषामा सजाएर अभिभावकहरू सो पूजामा सहभागी भएका थिए ।
महिनावारी सुरु नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिन्छ । कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने धार्मिक विश्वास पनि रहिआएको छ ।