काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकार उद्यमीलाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चले गठन गरेको मधेश प्रदेश च्याप्टरको वीरगञ्जमा शुभारम्भ गर्दै उनले उद्यमशीलताको प्रबर्द्धन गर्न कोष बनाएको जानकारी दिए ।
मुलुकभित्र रोजगारी सिर्जना गर्न उद्यमशीलताको प्रबर्द्धन गर्न आवश्यक रहेको उनले बताए । रोजगारीको अभावमा युवाहरू विदेशिएको अवस्थामा देशभित्रै केही गर्नुपर्छ भन्ने भावनाका साथ युवा उद्यमीलाई संगठित गर्ने कार्यका लागि उनले परिसंघ युवा उद्यमी मञ्चलाई धन्यवाद समेत दिए । साथै, उनले प्रदेशसँगै समग्र मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रसँग मिलेर अगाडि बढिरहेको बताए । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवा उद्यमीलाई देशमै केही गर्न सकिन्छ, विदेश जान आवश्यक छैन भन्ने स्थापित गर्न युवाहरूलाई नीतिबाटै सहजीकरण, प्रोत्साहन गर्न आवश्यक रहेको बताए ।
देशमा रोजगारी बढाउन, औद्योगीकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीलाई प्रोत्साहन, प्रेरणा, हौसला दिन आवश्यक रहेकोमा समेत उनले जोड दिए । ‘विदेशमा अध्ययन गरेर आफ्नै देशमा केही गर्नुपर्छ भनेर आउने युवाहरूको पनि संख्या ठूलो छ । उनीहरूलाई देशमै उद्यम विकासका लागि हौसला प्रदान गर्न आवश्यक छ’, उनले भने, ‘यसका लागि स्थानीय, प्रदेश एवं संघीय सरकारले नीतिगतरूपमा सहजीकरण गर्नुपर्छ ।’ नेपाल उद्योग परिसंघ मधेश प्रदेशका अध्यक्ष प्रमोद साहले कानुनी एवं नीतिबाटै युवा उद्यमीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष आशीष अग्रवालले मधेश प्रदेशको आर्थिक विकासले देशलाई नै समृद्धि दिन सक्ने बताए । त्यसैले मञ्चमार्फत नयाँ अवसरहरू खोज्दै, उद्यमशीलतामा नयाँपन ल्याउँदै र देशको आर्थिक विकासमा योगदान पु¥याउने संकल्पका साथ अघि बढ्न चाहेको बताए ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश च्याप्टरका अध्यक्ष रजत बजाजले देशको महत्वपूर्ण आर्थिक केन्द्र रहेको मधेश प्रदेशका युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न प्रदेश सरकार, स्थानीय सरकारसँग नीतिगत विषयमा समन्वय गर्ने बताए । उनले प्रदेश सरकारले युवा उद्यमीहरूलाई प्रोत्साहन गर्ने, सहकार्य गर्ने विश्वास व्यक्त गरे । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टरको बोर्डमा रजत बजाजसँगै आयोसी तुल्सियाना, अनुनय रुङ्टा, अनुश्री अग्रवाल, दिपक साह रहेका छन् । सोही अवसरमा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश च्याप्टरसँग होटेल लर्डस् दियालो, हेलिङ टच स्पा, म्याजिक बेल्स, होटेल सरोभर, थ्रिल फ्याक्ट्री, होटेल इच्छा, वर्ल्ड अफ ओन्डर एन्ड स्र्पोट हाउसले सहकार्य गर्ने समझदारी गरेका छन् ।