काठमाडौं । जापानको रोटरी क्लब अफ सिमिचु उत्तरी जापानद्वारा काठमाडौंस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल)लाई करिब ६० लाख मूल्य पर्ने हाईटेक पोर्टेबल एक्सरे मेसिन हस्तान्तरण गरिएको छ ।
जापानस्थित रोटरी क्लब अफ सिमिचु उत्तरी जापानका अध्यक्ष सागुची केइकोले उक्त सामग्री आज एक कार्यक्रमका बीच अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । अध्यक्ष सागुचीको साथमा करिब डेढ दर्जन टोली मेडिकल सहयोग सामग्री लिएर काठमाडौं आइपुगेको छ ।
सहयोग सामग्रीको साथमा निवर्तमान अध्यक्ष मोचिचु हिरोनोबु र अतिथिको रूपमा उन्नो काजुको उपस्थित थिए । उपकरण हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ सिमिचु उत्तरी जापानका टोली अत्यन्तै हर्षित र खुसी थिए । अत्याधुनिक सुविधा सम्पन्न पोर्टेबल एक्सरे मेसिन ग्रहण गर्दै अस्पतालका अध्यक्ष डा श्रेष्ठले जापानी रोटरियनहरूले देखाएको माया नेपालीहरूको लागि सदैव अविस्मरणीय हुने बताए । अस्पताल सामग्रीहरू रोटरी क्लब अफ न्युरोड सिटीको सामान्यमा नेपाल आइपुगेको हो ।