काठमाडौँ । राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले हाल कायम रहेको शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको जनाउँदै अनलाइन कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरु पढाएर एसइईको नतिजामा उल्लेख्य सुधार गर्न थालिएको जनाए । हाल एसइईमा ५० प्रतिशतको हाराहारीमा विद्यार्थी उत्तीर्ण हुँदै आएका छन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले उच्चशिक्षा, विद्यालय तह र सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने क्याम्पस, विद्यालय र संस्थालाई पुरस्कार वितरण गरे । उनले विश्वमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम नागरिक उत्पादन गर्न शिक्षाकर्मीलाई आग्रह गरे ।
प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिनलाई आधार मानेर पछिल्ला वर्षमा असोज २ गतेलाई शिक्षा दिवस मनाउन थालिएको हो । ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ आज देशभर शिक्षा दिवस मनाइएको छ ।