चैनपुर (बझाङ) । दुर्गाथली गाउँपालिकाको मोरीबगरबाट झनानातर्फ गइरहेको ट्याक्टर बुधबार बिहान बझाङको सेती नदीमा दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन् ।
जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढाले चलाएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किशोर जोशीले जानकारी दिए । ट्याक्टर ५० मिटर तल सेती नदीमा खसेको र चालकसहित एक जना बेपत्ता भएका उनले बताए ।
सूचना अधिकारी जोशीले ट्याक्टर नम्बर र बेपत्ता भएका अर्का व्यक्तिको नाम नखुलेको बताए । अहिले घटनास्थलमा प्रहरी नायब निरीक्षकको नेतृत्वको टोलीले घाइतेको उद्धार गरेको र बेपत्ताको खोजी भइरहेको उनले जानकारी दिए ।